लेमन ट्री प्रिमियर बुढानीलकण्ठ’ले पायो पाँच तारेको मान्यता

 

काठमाडौं । १३ रोपनी क्षेत्रफलमा फैलिएको बुढानीलकण्ठ लिमिटेडद्वारा सञ्चालित होटेल ‘लेमन ट्री प्रिमियर बुढानीलकण्ठ’ले पाँच तारे होटेलको मान्यता पाएको छ ।

पर्यटन विभागले गरेको अनुगमनमा पाँच तारेको मापदण्ड पूरा भएको पाइएपछि विभागले पाँच तारेको मान्यता दिएको हो । सुन्दर र शान्त वातावरणमा रहेको होटेल लेमन ट्री गएको माघ १ गतेबाट सफ्ट लन्च भएर सञ्चालनमा आएको हो । चार वर्षदेखि निर्माणाधीन यो होटेलको कुल लागत २ अर्ब ६० करोड रहेको छ भने होटेलमा हेल्थ क्लब, स्विमिङ पुल, रुफ टप गार्डेन, स्पा, योग तथा ध्यान केन्द्र छन् ।

२ अर्ब ४० करोडमा निर्माण सम्पन्न गर्ने भनिए पनि कोरोना र आर्थिक मन्दीका कारण २० करोड लागत बढेको होटेलका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले बताउनु भएको छ ।

बुढानीलकण्ठ क्षेत्रमा खुलेको यो पहिलो पाँचतारे होटेल हो । काठमाडौं उपत्यकालाई नजिकबाट नियाल्ने उत्तम गन्तव्यको रूपमा पनि बुढानीलकण्ठ क्षेत्र विकास हुँदै छ ।

Know More