नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेल मार्की प्लेअर रहेको टिम हो लुम्बिनी लायन्स । फर्चुना हेल्थ केयरको स्वामित्वमा रहेको लुम्बिनी लायन्स अक्सनमा भाग्यमानी बन्दा नेपालका राम्रा खेलाडीहरु अनुबन्ध गर्न सफल भएको थियो ।
लुम्बिनीमा रोहितसँगै हाल राष्ट्रिय टिममा रहेका विकेटकिपर ब्याटर अर्जुन साउद छन् । यस्तै राष्ट्रिय टिमबाटै खेलिसकेका सन्दिप जोरा, विवेक यादव र सूर्य तामाङ पनि यसै टिममा छन् । सन्दिप जोराले केही समयअघि हङकङ सिक्सेसमा नेपालको कप्तानी गरेका थिए । विवेकले पनि त्यस प्रतियोगिता खेलेका थिए ।
लुम्बिनीको रोचक संयोग के छ भने रोहितसहित अर्जुन साउद विवेक यादव र सुर्य तामाङले २०२२ मा भएको नेपाल टी२० लिग विराटनगर सुपर किंग्सबाट सँगै खेलेका थिए ।
लुम्बिनीका पाँच खेलाडीसँग राष्ट्रिय टिमबाट खेलिसकेको अनुभव छ । यस्तै तिलक राज भण्डारी र दुर्गेश गुप्ताले नेपालको यू१९ टिमबाट खेलिसकेका छन् । दुवैले गत यू१९ विश्वकप समेत खेलेका थिए ।
आशुतोष घिरैयाले नेपाल ए टिमबाट खेलिसकेका छन् । उनी घरेलु क्रिकेटमा पनि राम्रो खेलिरहेका छन् । यस बाहेक दिनेश अधिकारी, विकास आग्री र अभिषेक गौतमले पनि घरेलु क्रिकेटमा राम्रो खेलिरहेका छन् ।
विदेशी खेलाडीमा लुम्बिनीले अष्ट्रेलियन अलराउण्ड बेन कटिङलाई सुरुमा अनुबन्ध गरेको थियो । सुरुमा डेभिड वार्नर ल्याउने प्रयास गरेको हल्ला चलेपनि लुम्बिनीले बेन कटिङ ल्यायो ।यसबाहेक इंग्ल्याण्डका विकेटकिपर ब्याटर टम मुर्स, भारतबाट यू१९ विश्वकप जितेका र हाल अमेरिकामा खेल्ने उन्मुक्त चन्द र बारबाडोर्सका युवा पेस बलर रामोन सिमोन्ड्स छन् ।
भारतको ए टिमबाट खेलिसकेका उन्मुक्त चन्दले अमेरिका सिफ्ट हुनुअघि मुम्बई, राजस्थान र दिल्लीबाट आईपीएल खेलेका थिए ।
लुम्बिनी लायन्सले लुम्बिनीकै शक्ति गौचनलाई कन्सलट्यान्ट कोच नियुक्त गरेको छ । यसैगरी भारतका नन्दन फाडनिस मुख्य प्रशिक्षकमा छन् । उनी यसअघि नेपाली राष्ट्रिय टिमका कन्सलट्यान्ट प्रशिक्षकको रुपमा काम गरेका थिए ।
लुम्बिनीको अर्को विशेषता भनेको यो टिमसँग महानायक राजेश हमाल पनि जोडिएका छन् । नेपाली सिने जगतकै सबैभन्दा ठूलो स्टार र चर्चित व्यक्ति राजेश हमाले लुम्बिनीको ब्राण्ड एम्बासडर हुन् ।
लुम्बिनी लायन्सको टिम :
ओनर : फर्चुना हेल्थ केयर (इश्वर जिसी)
मार्की प्लेअर : रोहित कुमार पौडेल
अन्य खेलाडी : सन्दिप जोरा, सूर्य तामाङ, अर्जुन साउद, विवेक यादव, आशुतोष घिरैया, तिलक राज भण्डारी, दुर्गेश गुप्ता, दिनेश अधिकारी, विकास आग्री, अभिषेक गौतम
विदेशी खेलाडी : बेन कटिङ, टम मुर्स, उन्मुक्त चन्द, रामोन सिमोन्ड्स
मुख्य प्रशिक्षक : नन्दन फाडनिस
आइकोनिक प्लेखर : अरिफ खान
कन्सलट्यान्ट प्रशिक्षक : शक्ति गौचन
ब्राण्ड एम्बासडर : राजेश हमाल
Know more: Click Here